नाकामा दैनिक भेटिन्छन् ‘कोरोना संक्रमित’, सम्बन्धित निकायलाई ‘छैन वास्ता’

नेपालगञ्ज – नेपालगञ्ज सीमानाकामा भारतबाट आएका नेपालीमा दैनिक नै कोरोना पुष्टि भइरहेको छ।
भारतका विभिन्न सहरबाट आएका नेपालीमा कोरोना पुष्टि भइरहँदा सरोकारवाला निकायको चासो छैन भने जनताले पनि कोरोनालाई सामान्य रुपमा लिइरहेका छन्।
शनिबार भारतबाट आएका एक सय ५१ जना नेपालीको कोरोना जाँच गरियो। जसमध्ये चार जनामा कोरोना पुष्टि भयो। कोरोना पुष्टि भएकादुई जनाबाँके, दैलेख र सल्यानका एक/एकजना रहेका छन्।
नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बाँकेको कोहलपुर र बैजनाथ गाउँपालिकाका, दैलेख र सल्यानका एक/एक जनालाई कोरोना पुष्टि भएको छ। उनीहरु गुजराज, सिमला र मसुरी आएका थिए।
कोरोना पुष्टि भएकाहरुलाई सामान्य रुघाखोकी थियो। जाँच गर्दा कोरोना देखिएकालाई सामान्यलाई जसरी नै घर पठाइएको छ।
नेपालगञ्ज नाकामा शुक्रबार र बिहीबार ५/५ जनालाई कोरोना पुष्टि भएको थियो। भारतको विभिन्न सहरमा मौसमी काम गर्न गएका नेपालीलाई घर फर्किँदा कोरोना पुष्टि हुने गरेको हो। कोरोना पुष्टि हुनेहरु धैरैजसो दैलेख, जाजरकोट, रुकुमका छन्।
यी जिल्लाका धेरै मानिस मौसमी कामका लागि भारतको काला पहाड, सिमला, प्रयाग, गुजरात लगायत सहरमा कामगर्न जाने गर्दछन् ।
ल्याब टेक्निसियन ज्ञवालीका अनुसार, असार महिनामा ३९ जनालाई कोरोना पुष्टि भएको छ। दुई हजार एक सय ७० जनाको जाँच गर्दा ३९ जनालाई कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएकाहरु केहीले कोरोनाविरुद्धको कुनै पनि खोप लगाएका छैनन् । केहीले तेस्रो डोज लगाएका छन् भने धेरै जसोले दोस्रो डोज लगाएका छन्।
ज्ञवालीले कोरोना भएकामध्ये ५ जनाले कुनै पनि खोप नलगाएको, ५ जनाले तेस्रो डोज लगाएको र २९ जनाले दोस्रो मात्रा लगाएको बताए।