नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

एक महिनामा दुई गुणाले बढ्यो कोरोना

विश्वमा कोरोना संक्रमण फेरि वृद्धि हुँदै गएको छ र त्यसको लक्षण दक्षिण एसियामा पनि देखिएको कुरा यस शृंखलाका गएका अंकहरूमा तथ्यांकसहित उल्लेख भइसकेको छ।

पछिल्लो समय विश्वमा एक महिनाको अन्तरालमा दैनिक कोरोना संक्रमण संख्यामा करिब दुई गुणाले वृद्धि भएको छ। एक महिनाअघिसम्म विश्वमा दैनिक करिब ४००००० जति देखिने गरेको कोरोना संक्रमण पछिल्लो समय ८००००० पुगेको छ।

यसरी विश्वमा दैनिक कोरोना संक्रमण बढ्नुमा अमेरिका, ब्राजिल, फ्रान्स, जर्मनी, इटाली, स्पेन, अस्ट्रेलिया, मेक्सिको, ताईवान, जापान आदि देशमा बढेको संक्रमण नै प्रमुख कारण हो।

त्यस्तै दैनिक कोरोना मृत्यु धेरै भएका देशमा ब्राजिल, अमेरिका, ताइवान, जर्मनी, बेलायत, इटाली आदि पर्छन्। तर, त्यति हुँदाहुँदै पनि विश्वको समग्र दैनिक कोरोना मृत्युमा भने हालसम्म सामान्य तलमाथिबाहेक विशेष वृद्धि भएको लक्षण देखिएको छैन।

दक्षिण एसियामा पछिल्लो समयको कोरोना प्यान्डेमिकको कुरा गर्ने हो भने माल्दिभ्समा फेरि कोरोना संक्रमणको नयाँ लहर देखिएको छ। त्यहाँ एक महिनाअघिसम्म दैनिक १० भन्दा कम देखिएको कोरोना संक्रमण हाल १८० को हाराहारीमा देखिने गरेको छ र शून्य भइसकेको कोरोना मृत्यु पनि फाटफुट देखिन सुरु गरेको छ। तर माल्दिभ्सको कोरोना तथ्यांक डब्लुएचओको वेबसाइट पनि नियमित रूपमा नभेटिने गरेको हुनाले त्यहाँको वास्तविक र विस्तृत तथ्यांक यस लेखमा उल्लेख गर्न सकिएको छैन।

यसै क्रममा दक्षिण एसियामा पनि पछिल्लो समय समग्र रुपमा दैनिक कोरोना संक्रमणमा उल्लेख्य वृद्धि भएको छ। दक्षिण एसियाका अधिकांश देशमा पछिल्लो समय कोरोना संक्रमणमा निकै वृद्धि भएको छ भने दैनिक मृत्यु शून्य भइसकेका देशमा पनि केही वृद्धि हुन खोजेको लक्षण देखिन्छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देयश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍ याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण केही बढ्न खोजेको देखिन्छ।

दक्षिण एसियाको पछिल्लो ४ हप्ता, सन् २०२२जुन १देखि २९ (२९ दिन)को कोरोना प्यान्डेमिक सम्बन्धि विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।
चित्र न. १ले दक्षिण एसियाको पछिल्लो ४ हप्ताको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा वृद्धि हुँदै गएको देखिएको छ। एक महिनाअघि करिब ५००० जति रहेको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण हाल १८००० नाघेको छ। त्यस्तै, दैनिक मृत्यु संख्याको हिसाबले कम भए पनि यसमा पनि वृद्धि हुँदै गएको प्रवृत्ति देखिन्छ।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय भारतको दैनिक कोरोना संक्रमणमा करिब एक महिना अघिको भन्दा चार पाँच गुणा धेरै वृद्धि भई हाल दैनिक करिब १५००० नाघेको छ। यद्यपि, दुई हप्तादेखि भारतमा दैनिक कोरोना संक्रमण केही स्थिर देखिन्छ। बंगलादेशमा पनि एक महिनादेखि दैनिक संक्रमणमा कैयौं गुणाले वृद्धि भई हाल दैनिक करिब २४००नाघेको छ। पाकिस्तान, अफगानिस्तान, नेपालमा पनि दैनिक कोरोना संक्रमण केही बढेको देखिएको छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाको भारतमा दैनिक मृत्युमा केही वृद्धि भएको देखिन्छ भने बंगलादेश, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स आदि देशमा पनि फेरि फाटफुट कोरोना मृत्यु देखिन थालेको छ।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने आवर वल्र्ड इन डाटाअनुसार हाल दैनिक संक्रमण दर भारतको २.७८%, अफगानिस्तानको २२.२%, बंगलादेशको २७.६% पुगेको छ।

स्मरण रहोस्, संक्रमण दर ५% भन्दा धेरै हुनु डब्लुएचओका अनुसार प्यान्डेमिक अनियन्त्रित हुनु हो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएको या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जुन २६ देखि जुलाई २ (वि.सं २०७९ असार १२ देखि १८)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, असार १८गते शनिबारसम्म, देशभरि जम्मा २५१ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या९७९७६२ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि१६८र तीन हप्ताअघि ९३ थियो । त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५२मा स्थिर छ।

गत हप्ता जम्मा १०४७४पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि१०४४५ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा७३.६४%संक्रमण देखियो जुन दुई हप्ताअघि७१.८१%थियो।

नेपालको दैनिकसंक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँद छ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम१.५८%देखि अधिकतम५.०६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२.५९% रह्योजुन दुई हप्ताअघि १.७१%थियो।नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा करिब दुई हप्तादेखि वृद्धि हुँदै गएको प्रवृत्ति देखिएको छ ।

चित्र न. ६ ले एक महिनाको नेपालको दैनिक पिसिआर परीक्षण, कोरोना संक्रमण संख्या र कोरोना संक्रमण दर (पोजिटिभिटी)को प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै एक महिनामा नेपालको दैनिक कोरोना संक्रमण दर ०.४२% बाट ५% नाघेको छ।

अर्कोतिर दैनिक परीक्षण भने कम हुँदै गएको छ। प्यान्डेमिक कालमा संक्रमण संख्या र संक्रमण दरसँगै परीक्षण पनि बढाउँदै लानुपर्नेमा उल्टो परीक्षण कम हुँदै गएको छ। त्यसको अर्थ यो पनि लाग्छ कि परीक्षण पनि बढाउँदै लाने हो भने वास्तविक संक्रमण संख्या र संक्रमण दर पनि हालको भन्दा धेरै हुने निश्चित छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वमा मुख्यतया अमेरिका र युरोपका केही देशमा संक्रमण संख्या र संक्रमण दर निकै बढेको छ। पछिल्लो समय दक्षिण एसियामा पनि दैनिक कोरोना संक्रमणमा निकै वृद्धि भएको छ। बंगलादेशमा दैनिक संक्रमण दर निकै उच्च, २७% भन्दा धेरै, भएको छ भने अफगानिस्तान, भारत र पाकिस्तानमा पनि संक्रमण दर बढ्दो प्रबृत्तिमा देखिएको छ।

नेपालमा पनि गत हप्ता, वि.सं २०७९ असार १२ देखि १८, साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दरमा वृद्धि भएको देखिएको छ। एक महिनाअघिको तुलनामा दैनिक संक्रमणमा क्रमशः वृद्धि हुँदै गएको छ र संक्रमण दरमा उल्लेख्य वृद्धि भई गत हप्ता ५% नाघेको छ । नेपालमा जम्मा दैनिक संक्रमितमध्ये औसतमा तीन चौथाई काठमाडौँ उपत्यकामा देखिने गरेको छ। तसर्थ काठमाडौँ उपत्यकामा कोरोना संक्रमण र यसको नियन्त्रणको लागि विशेष पहल गर्नुपर्ने देखिन्छ।

यसरी अमेरिका, युरोप, दक्षिण एसिया र नेपालमा पनि संक्रमण संख्या र संक्रमण दरमा केही वृद्धि देखिनु प्यान्डेमिकको नया लहरको सूचक हुन सक्छ। यद्यपि, नेपालमा हाल संक्रमण दर अन्यत्र को तुलनामा निकै न्यून छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपालर विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्