प्रदेश १ मा खेलाडी सम्मानसँगै निःशुल्क स्वास्थ्य उपचार हुने

विराटनगर- विभिन्न अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ।

विराटनगरमा आइतबार आयोजित कार्यक्रममा बोर्डले प्रदेश १ का विभिन्न स्थानबाट ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका १ सय ८७ जना खेलाडीलाई सम्मान गरेको हो।

सो क्रममा प्रदेशबाट विभिन्न ओलम्पिक खेलमा सहभागी ९ जना खेलाडी, एसियन खेलकुदमा सहभागी ३७ र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना गरी १ सय ८७ जना खेलाडीलाई सम्मान गरिएको हाे।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ नम्बरका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलक्षेत्र र राष्ट्रिय गहना खेलाडीलाई सम्मान गर्न पाउनु सरकारका लागि समेत अवसर भएको बताए।

कार्यक्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाएका पूराना तथा हाल खेलिरहेका खेलाडीलाई सम्मान गरिएको बताए।

कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्ड, नोवेल शिक्षण अस्पताल र काठमाडौँ शिक्षण अस्पतालबीच खेलाडी स्वास्थ्य उपचार सेवाको लागि ५ वर्षीय सम्झौतासमेत भएको छ।

सो क्रममा उपचार प्रदायक दुवै संस्थाले प्रदेश १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई निःशुल्क र खेलाडीका परिवारलाई ५० प्रतिशत उपचार खर्च छुट गर्ने गरी सम्झौता भएको हो।

कार्यक्रममा दुवै स्वास्थ्य प्रदायक संस्था र नेपाल ओलम्पियन एसाेसिएसनबीच समेत खेलाडी निःशुल्क उपचार सेवाका लागि सम्झौता भएको छ।

सम्झौतापछि केएमसीका कार्यकारी प्रमुख डा. सुनिल शर्माले राष्ट्रिय गहनाका रूपमा परिचित खेलाडी अस्पतालले प्रदान गर्ने सेवाबाट लाभान्वित हुने बताएका थिए।

यसैगरी नेपाल ओलम्पियन एसाेसिएसनका महासचिव राजेन्द्र भण्डारीले प्रदेश १ स्थित प्रदेश खेलकुद विकास बोर्डले खेलाडीका लागि सुरु गरेको कार्यको सन्देश अन्य प्रदेशमा समेत पुग्ने बताए।

आफ्नो जीवन नै खेलमा समर्पित गरिरहेका खेलाडीको स्वास्थ्य उपचार सेवाले उत्साहसँगै खेलाडीको हकहितमा लाग्नका लागि अन्य प्रदेशलाई समेत दवाब हुने उनको भनाइ छ।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्