पछिल्लो ११ महिनामा ६ करोड ४२ लाखको विदेशी पानी आयात

फाइल तस्बिर।

वीरगञ्ज- नदी, ताल-तलैया तथा जलाशयलगायत जलस्रोतको धनी देश नेपालले वर्षेनी खानेपानीको आयात गर्छ। जलस्रोतको धनी मुलुक भने गुणगान गाइरहँदा यहाँ विदेशबाट वर्षेनी मात्रै करोडौँ रकमको पानी आयात हुने गर्दछ।

नदी, ताल-तलैया तथा जलाशय लगायत पानीमा धनी भएकै कारण नेपालमा अहिले थुप्रै जलविद्युत आयोजनाहरू समेत सञ्चालनमा रहेका छन्। यस्तै धेरै जलविद्युत आयोजनाहरू निर्माणको क्रममा छन्। तर,यस्तो अवस्थामा पनि पिउनकै लागि भनेर नेपालले विदेशबाट करोडौँको पानी आयात गरिरहेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालले विदेशका विभिन्न देशहरूबाट ६ करोड ४२ लाख ५ हजार बराबरको ५१ हजार ७ सय लिटर पानी आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

यस अवधिमा नेपालले भारत, चिन, ईटली, कोरिया, जापना र अन्य देशबाट एक लाख १ हजार बराबरको मिनरल वाटर १ हजार ८ सय ४८ लिटर आयात गरेको छ।

त्यस्तै, यसै अवधिमा भारतबाट १४ लाख ८० हजार बराबरको १३ हजार ९८० लिटर पानी बरफ, हिउँँ आयात गरेको छ।

मलेसियाबाट ७ लाख ५६ हजार बराबरको ५ हजार ७२ लिटर र अन्य देशहरुबाट ३४ लाख ४३ हजारको २७ हजार ८०७ लिटर पानी बरफ,हिउँँ आयात गरेको भन्सार विभागले जनाएको छ। यसै अवधिमा नेपालले क्यानाडाबाट २ लाख २५ हजार बराबरको चिनी मिसाइएको मिठो पानी आयात गरेको छ।

त्यस्तै चिनबाट १७ हजारको १ सय ३१ लिटर, फ्रान्सबाट १ लाख ८६ हजारको १ हजार १९९ लिटर, ईटलीबाट ३६ हजार बराबरको २ सय ३४ लिटर र युकेबाट १ लाख ८० हजार बराबरको एक हजार १६५ लिटर चिनी मिसाइएको मिठो पानी वदिेशबाट नेपालमा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

यसरी यी सबै पानीको मूल्य जोड्दा ६ करोड ४२ लाख ५ हजार बराबरको पानी मात्रै आयात भएको छ। यो ठुलो रकम नभएपनि पर्याप्त मात्रामा नेपालमै पानी र तिनका स्रोतहरु भरपुर रहेको भएपनि विदेशबाट पानी आयात गर्दा करोडौँ रुपैयाँ स्वदेशी मुद्रा विदेशिएको छ।जबकी अहिले नेपालमा विदेशी मुद्राको सञ्चितीको अवस्था नराम्रो रहेको छ।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्