कैदीबन्दीकाे संख्या धेरै भएपछि जाजरकाेट कारागारमा समस्या, पालैपालाे सुत्छन् कैदीबन्दी

काठमाडाैँ- बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको छ।

सुधारगृहको रूपमा रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्याले चुनौती थपिएको हो।

पन्ध्र पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन्।

कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, शैय्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताएका छन्।

सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ। कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताए।

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ थियो।

जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए। साथीहरू मिलेर आलोपालाे गरी सुत्नुपर्ने बाध्यता रहेको उनको गुनासो थियो।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताए। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको र यसको समाधानका लागि पहल जारी रहेको उनकाे भनाइ छ।

‘सबैले काम गर्छु भन्छन् तर काम केही हुने होइन’ भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन्। जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरूको भनाइ थियो।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्