दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले पठाएको बच्चाको कपडामा सुन भेटिएपछि…

काठमाडौँ- पछिल्लो समय सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ नयाँ तौरतरिका अपनाउने गरेका छन्।

कहिले सुटकेसको ह्यान्डल सुनको त कहिले भित्री वस्त्रमा लुकाएर अवैध रुपमा सुन नेपाल भित्र्याउने प्रयास यसअघि केही व्यक्तिहरुले गर्दै आएका थिए । तर सोमबार बिहान भने नाबालकले लगाउने कपडाको बटनमा सुन लुकाएर अवैध रुपमा नेपाल ल्यउन खोज्ने एक यात्रुलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियात्रणमा लिएको छ।

दुवईबाट काठमाण्डौं आएका सुमन दमाई नाम गरेका यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको विमानस्थल प्रहरीले जनाएको छ।

सोमबार बिहान करिब ११ बजे दुवईबाट काठमाण्डौं आएका ति यात्रुले आफ्नो साथमा लिएर आएको लगेज चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोशाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको विमानस्थल भन्सार प्रवक्ता महेश भट्टराईले बताएका छन्।

 

उनका अनुसार फेला पारेको सुन स्टील बटनको भित्री भागमा फिट गरि राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको रहेको छ।

उनी भन्छन्, ‘सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनावद्ध ढङ्गबाट बटन भित्र सुनलाई फिट गरि पठाईएको हुनसक्छु’ ।

नियन्त्रमा रहेका यात्रु सुमनको मात्र संलग्नता छ वा अन्य कुनै व्यक्तिको पनि भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने उनले बताएका छन्।

नियन्त्रणमा रहेका यात्रु भिजिट भिषामा दुवई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्किएका थिए। नेपाल पर्क्रिने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याईदिन अनुरोध गरेको हुँदा ल्याईदिएको उनले बताएका छन्।

मालवस्तु सहित सम्बन्धित यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

नियन्त्रणमा लिएको सुनको तौल करिब १२५ ग्राम रहेको भट्टराईले बताएका छन्।

भन्सार कार्यालयले भने विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाईएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नल्याउन आग्रह गरेको छ।

 

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्