आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे पार्टीभित्र विभिन्न धार छः गिरिराजमणि पोखरेल

फाइल फोटो।

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका हुन्।

उनले जारी केन्द्रिय कमिटी बैठकमा विभिन्न धारणा व्यक्त भएको जानकारी दिए। पार्टीभित्र एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान गठबन्धनलाई लिएर जानुपर्ने तथा वाम गठबन्धन गर्नुपर्नेलगायतका मत रहेको स्पष्ट पारे।

उनले भने, ‘हामी स्थानीय चुनावको समीक्षा गरिरहेको छौँ। संघ र प्रदेशको चुनावका मुद्दामा आधारित भएर गठबन्धन अगाडि बढ्ने हो। हाम्रो छलफलको संश्लेषण भइसकेको छैन। एक्लै आफ्नो खुट्टामा उभिएर जानुपर्छ भन्ने पनि केन्द्रिय कमिटीमा मत छ। भएका गठबन्धनका गल्ती, कमजोरीलाई सच्याएर यसैलाई अझ मजबुत बनाएर लिएर जानुपर्छ भन्ने मत पनि छ। वाम गठबन्धनतर्फ जानुपर्छ भन्ने पनि छ। वाम–लोकतान्त्रिक अथवा वाम–समाजवादीहरुको गठबन्धन हुनुपर्छ भन्ने पनि छ।’

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्