माओवादी केन्द्रीय कमिटी बैठकः पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग

फाइल फोटो।

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आजको बैठकमा केन्द्रीय समितिका पदाधिकारी, स्थायी कमिटी गठन गर्नुपर्ने माग उठेको छ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन्।

सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रिय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताए।

उनले बैठकमा आज ४१ जना नेताहरुले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेमा विशेष कुरा उठेको जानकारी दिए।

उनले भने, ‘आज हामीले बहसको कार्यक्रम राखेका थियौँ। हिजो केन्द्रिय समितिको मिटिङमा अध्यक्ष कमरेड प्रचण्डले राख्नुभएको संक्षिप्त राजनीतिक प्रतिवेदनबारे आफ्नो धारणा राख्ने कमरेडहरुको आज बहसको कार्यक्रम सम्पन्न भयो। त्यसमा ४१ जना साथीहरुले भाग लिनुभएको छ। मूलभूत रुपमा कमरेडले उठाएका विषयहरुमा स्थानीय चुनावसम्बन्धी समीक्षा, त्यसपछि पार्टी निर्माणबारेका कुरामा अलि बढी केन्द्रित गरेर सबै विषयवस्तु राख्नुभयो। केन्द्रिय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्छ भन्ने सुझाव राख्नुभयो। भोलि अध्यक्षले प्रतिवेदनमा स्पष्टीकरण दिनुहुनेछ।’

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्