प्रदेश १ को नामका लागि कांग्रेस र एमाले भौगोलिक पहिचानको नाममा सहमति नजिक

मोरङ – प्रदेश १ को नामकरणको विषय टुंग्याउन राजनीतिक दलबीच छलफलले तीव्रता पाएको छ।
सोमबार विराटनगरमा कांग्रेस संसदीय दल र एमाले संसदीय दलका नेताबीच प्रदेशको नामको विषय चालु अधिवेशनभित्र पूरा गर्ने सैद्धान्तिक सहमति भएको छ।

छलफलपछि कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले प्रदेशको नाम टुंग्याउने अभिभारा पूरा गर्ने जिम्मेवारीलाई निभाउने गरी छलफल गरिरहेको बताए।

आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईसँग छलफल गरेको बताउँदै उनले नामको विषयलाई दलहरुबीच सहमतिमा पुगेर सहज ढंगबाट अवतरण गराउन कांग्रेस प्रयासरत रहेको उल्लेख गरे।

एमालेसँगको छलफलमा सैद्धान्तिक रूपमा एक भएर अघि बढ्न सक्ने र नामलाई निर्विवाद रूपमा राख्न सक्ने वातावरण बनाउने काम भइरहेको बताए।

त्यसैगरी, एमालेका नेता एवं पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले कांग्रेससँगका छलफल सकारात्मक भएको बताए।

उनले सभामुख प्रदीकुमार भण्डारीसँग कुरा गर्दै समयतालिकाको माग गर्ने र सैद्धान्तिक सहमतिमै नामलाई अघि बढाउने सहमति भएको जानकारी दिए।

उनका अनुसार भौगोलिक पहिचानलाई अंगीकार गर्दै सहमतिमै अघि बढ्न सकिने गरी दुवै दलनजिक भएका छन्।
बैठकमा नेपाली कांग्रेसबाट संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक राई, लोकप्रसाद संग्रौला, र शिवनारायण सिंह रहेका थिए।

त्यसैगरी, एमालेबाट संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री भीम आचार्य, दलका उपनेता यशोदा तिम्सिना, पूर्वमन्त्री घिमिरे, हिक्मत कार्की, जगदीश कुसियैत र राजकुमार ओझा थिए। कांग्रेस नामकरणको विषयलाई टुंग्याउनका लागि नेकपा माओवादी र अन्य दलसँग पनि छलफल गर्ने बताएको छ।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्