लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ –  जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

सोमबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको बागलुङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन्।

पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

असार २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्