अस्ट्रेलिया प्रवेश गर्न कोभिड-१९ विरुद्धको खोप लगाएकाे पुष्टि गर्नु नपर्ने

एजेन्सी- अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ।

त्यहाँको गृहमामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतबार उक्त जानकारी दिएका हुन्।

बुधबारदेखि अस्ट्रेलिया आइपुगेका यात्रु खोप लगाएको पुष्टि गर्न अब ‘डिजिटल प्यासेन्जर डिक्लरेसन (डिपिडी) पूरा गर्नु पर्ने छैन।

यो निर्णयले कोभिड-१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेस गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई संकेत गरेको छ।

यद्यपि अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ।

अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो। सोमबार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड-१९को थप सङ्क्रमण भएको जनाएको थियाे।

विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यू साउथ वेल्समा २५ जनाको मृत्यु भएको थियो।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्