नेपाल घरेलु टोली क्यानडासँग भिड्दै

नेपाली क्रिकेट टोली, फाइल तस्बिर।

काठमाडौँ – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार(आज) घरेलु टोलीको प्रतिष्पर्धा गर्दै छ।

पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो। किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद् सुरुआत गर्ने लक्ष्य लिएको छ।

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ।

विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो।

यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग एक एकदिवसीय र अर्को टी-२० गरी दुई अभ्यास खेल खेलेको थियो। दुवै खेल नेपालले जितेको थियो।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।

नेपालले स्कटल्याण्डमा हुने लिग-२ अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्