११ महिनामा ६ करोड ४० लाखभन्दा बढीको अचार नेपाल भित्रियो

वीरगञ्ज- पछिल्लो समय देशमा उत्पादन हुने तथा सहजै पाइने गरेका विभिन्न वस्तुहरूको आयात बढेसँगै नेपालमा विदेशी अचारको आयातमा पनि वृद्धि भएको छ।

सोही क्रममा चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा विदेशबाट नेपालमा अचारसमेत करोडौँको आयात भएको छ।

नेपालमा सहजै पाइने तरकारी तथा विभिन्न फलफलहरूबाट अचार बनाउन सकिने भए पनि नेपालमा करोडौँ मूल्यको विदेशी अचार आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

गत आवको भन्दा चालु आवमा दोब्बरभन्दा बढी र झण्डै तेब्बरले नेपालमा अचारको आयात बढेको छ।

चालु आवकाे एघार महिनाको अवधिमा ६ करोड ४० लाख ८१ हजार बराबरको ३ लाख १५ हजार ४ सय ८२ किलो आचार आयात भएको छ। यस आँकडाअनुसार आयात गरिएको अचारको कुल रकमलाई भाग गर्दा नेपालीले एक महिनामा ५८ लाख २५ हजार ५ सय ४५ रुपैयाँ ४५ पैसाको अचार खाने गरेको देखिन्छ।

जबकि गत आवको सोही अवधिमा २ करोड ४७ लाख ७४ हजार बराबरको कुल एक लाख ५५ हजार १३५ किलो अचार मात्रै नेपालमा आयात गरिएको थियो।

यस तथ्यांकअनुसार गत आवको भन्दा चालु आवमा ३ करोड ९३ लाख ७ हजार बराबरको एक लाख ६० हजार ३४७ किलो बढी अचार नेपालमा विदेशबाट आयात भएको छ।

चालु आवकाे ११ महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी चीनबाट ३ करोड १९ लाख ९३ हजार बराबरको एक लाख ४ हजार १३४ किलो आचार आयात भएको भन्सार विभागको तथ्यांकमा देखाइएको छ।

यस्तै, भारतबाट ३ करोड २ लाख २१ हजार बराबरको २ लाख ६ हजार ५७२ किलो, कोरियाबाट १६ लाख १९ हजारको ४ हजार २ सय, जापानबाट १ लाख ५६ हजारको २ सय ६१ किलो विदेशी अचार नेपालमा आयात गरिएको छ।

यसैगरी, थाइल्याण्डबाट ५० हजारको ८२ किलो र युएईबाट ४१ हजारको २ सय ३३ किलो अचार नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।

गत आवमा भारतबाट एक करोड ७१ लाख २६ हजार बराबरको एक लाख २९ हजार २९६ किलो र चीनबाट ६६ लाख ४८ हजार बराबरको २५ हजार ८३९ किलो अचार नेपालमा आयात भएको विभागकाे तथ्यांकमा छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्