जनकपुर चुरोट कारखानालाई नै मधेस सरकारले आफ्नो स्थायी संरचना बनाउने

जनकपुरधाम – मधेस प्रदेश सरकारले जनकपुर चुरोट कारखाना परिसरमा नै आफ्नो स्थायी संरचना राख्ने भएको छ।

प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागी जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो प्रतिवेदन पेश गरेको छ।

गत माघ ३ गते प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि प्रदेश सरकारले सरकारको मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा समिति गठन भएको थियो।

समितिले राजधानीको मुल संरचनाको लागि जचुकाली परिसरलाई मुख्य प्राथमिकतामा राखी राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरूलाई समेटेर प्रतिवेदन तयार गरेको समितिका संयोजक मन्त्री यादवले बताए।

उनले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा अभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणकालागि सिफारिस गरेको बताए।

यता मुख्यमन्त्री राउत प्रतिवेदन लिँदै आउने मन्त्रिपरिषदको बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए।

प्रदेश गठनभएपछि संघ सरकारले तत्काल प्रयोग गर्नका लागि बन्द रहेको चुरोट कारखानाको भवन तथा परिसर उपलब्ध गराएको थियो। पछि प्रदेश सरकारले जचुकाली परिसरलाई मधेस भवन नामाकरण समेत गरेको थियो ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्