नेपालगञ्ज – बाँकेमा यो वर्ष ढिलोगरी धान रोपाइँ सुरु भएको छ।

असार १५ अर्थात् धान दिवसमा परेको पानीले रोपाइ सुरु भएको बाँकेमा असारको अन्तिम हप्ता लागिसक्दा २० प्रतिशत हाराहारीमा रोपाइँ भएको छ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले २० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिए। उनका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाइ भएको हो।

असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन। किसानले आकाशेपानीले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन्। बोरिङ, ह्याण्डपम्प चलाएर बीउ राखिएको थियो। कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन। अलि पहिला बीउ राखेका किसानले यतिबेला रोपाइँ गरिरहेका छन्।

बाँकेमा यो वर्ष राम्ररी पानी पर्न सकेको छैन। १५ गतेयता हल्का – हल्का वर्षा भएको छ। गौरवको आयोजना सिक्टाले पानी छोडेको छ। सिक्टाले अझै किसानको खेतमै पानी पुर्‍याउने गरी संरचना बनाइसकेको छैन।

सिक्टाको पानी खोलानालाहरूमा छोडिएको छ। त्यहाँबाट किसानले पम्पसेट लगाएर पानी खेतमा पुर्‍याइरहेका छन्।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ। आकाशेपानीकै भर पर्नु पर्ने भएकाले धानखेती राम्रो हुन सकेको छैन।

गतवर्ष समयमै धान रोपाइँ भए पनि कात्तिकमा आएको बेमौसमी बाढीले धानमा ठूलो क्षति पुर्‍याएको थियो। त्यो क्षतिले गर्दा बाँकेमा उत्पादन ह्वात्तै घटेको छ। धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पुर्‍याउने गरेको छ।

जिल्लाका राप्ती नदी तदीय क्षेत्रका बासिन्दाको धान बर्सेनि नदीले बगाउनु सामान्यजस्तै भइसकेको छ।

भारतले राप्ती नदीमा एकतर्फी लक्ष्मणपुरमा बनाएको बाँध, कलकलवा तटबन्ध र दशगजामै बनाइएको सडकजस्तो नेपालबाट बग्ने पानीको प्राकृतिक बहावलाई रोक्ने गर्दछ। जसले गर्दा बर्सेनि डुवान र कटान र हुने गरेको हो।

सन् २००३ मै भारतले नदीको दुवैतर्फ २८ किलोमिटरमा पक्की तटबन्ध बनाइदिने बताए पनि अहिलेसम्म भारतले सहयोग गरेको छैन। न त नेपालले सम्झौताअनुसार छिटो काम गर्नुपर्‍यो भनेर दबाब नै दिन सकेको छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्