बस्तीमा गाडी पुगेपछि स्थानीयमा खुसीयाली

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका-२ का तीनवटा बस्तीमा एकसाथ गाडी पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ।

यसै आर्थिक वर्षबाट सुरु भएको सडक निर्माण कार्य पूरा भएर बस्ती-बस्तीमा गाडी पुगेपछि स्थानीय खुसी भएका हुन्।

गाउँपालिका केन्द्र छप्रेलामा यसअघि नै गाडी पुगेको भएपनि आफ्नो गाउँमा यति चाँडै गाडी गुड्छ भन्ने विश्वास स्थानीयमा नभएको बेला घरआगनमै गाडी हर्षित भएको कटेल गाउँकी स्थानीय भावना शर्माले बताइन्।

बोलेरो जीप आगनमै पुगेपछि स्थानीयले गाडी, चालक र यात्रुहरूलाई अबिरअक्षेता तथा खादा लगाएर स्वागत गरेका थिए।

उनको गाउँमा मात्र गाडी पुगेको छैन, छिमेकी कटिकबाडा, कोलिवाडा र क्षेत्रपाल आधारभूत विद्यालयसम्म एकैदिन गाडी गुडेको थियो।

गाउँपालिका अध्यक्ष लालकेश जैसीले स्थानीय उपभोक्ताद्वारा सडक निर्माण गरेर सञ्चालनमा आएपछि गाउँगाउँमा गाडी पुगेको बताए।

गाउँपालिकाको आफ्नै लगानीमा सो सडक निर्माण गरिएको हो। अध्यक्ष जैसीले गाउँपालिका केन्द्र छप्रेलाबाट तीन किलोमिटर सडक निर्माण गरेर ती गाउँमा गाडी सञ्चालनमा आएको जानकारी दिए।

यसका लागि अघिल्लो आर्थिक वर्षमा ४७ लाख र यसवर्ष १५ लाख गरी कुल ६२ लाखमा सडक निर्माण भएको हो। यसबाट तीनवटै गाउँका गरी तीन सयभन्दा बढी घरधुरी लावान्भित भएका छन्।

ताँजाकोट गाउँपालिकाका पाँचवटै वडा केन्द्रमा सडकसञ्जाल यसअघि नै जोडिइसकेको छ। उनले अब गाउँ-गाउँमा सडक जोड्ने कार्य जारी रहने बताए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्