कांग्रेस उपसभापति गुरुङकाे दावी : गठबन्धन टुटे देश दुर्घटनामा जान्छ

फाइल तस्बिर

काठमाडाैँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्।

मंगलबार काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए।

उपसभापति गुरुङले भने, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ। जहाज उडिसकेको छ, आकाशमा छ तर ल्याण्डिङ भएको छैन। अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ। जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ। सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले कांग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा सुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन।’

गठबन्धनभित्रका दलहरूले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजाेगिने उनकाे भनाइ छ।

‘हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो। हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्ने कुरा हामी आफैँले प्रमाणित हुन्छ। आउने मंसिरतिर सायद मलाई लाग्छ- जहाज सेफ ल्याण्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ’, उपसभापति गुरुङले भने।

उनले सधैँ देश गरिब बनाएर काम गर्न नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको पनि बताए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्