कुर्सीमा हुने समस्या सामान्य नै हाे, तपाईंहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ: देउवा

फाइल फोटो।

काठमाडाैँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरूपमा लिनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन्।

उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरूलाई सामान्य रूपमा लिन आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले भने, ‘धनराजजीहरूले पनि भन्नुभयो- गठबन्धनमा समस्या आयो। एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै। यसलाई सामान्य रूपमा लिनुपर्छ। तपाईंहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ।’

उनले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले भने, ‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ। त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ। यो राम्रो हो, खुसीकाे कुरा हो। नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र? हामी यसमा सहयोग र पहल गर्ने नै छौँ।’

उनले सधैँ जनताको लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको पनि बताए।

 

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्