विराटनगरमा गिरिजाको नाममा संग्रहालय बनाउन सुजाताको माग

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा स्व.नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।

मंगलबार‌ काठमाडौँमा नेपाल ट्रेड युनियन का‌ंग्रेसले आयोजना गरेको स्व.नेता कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजनप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन्।

उनले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताएकी हुन्। नेतृ कोइरालाले संग्रहालय बनाउनसके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गरेकी छन्।

उनले भिनिन्, ‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रूपमा बनाऔँ। त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न। विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ। हामीले म्यूजियम बनायौँ भने यो नेपाली का‌ग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ। अहिले प्रधानमन्त्री नेपाली का‌ग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रूपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ। ऐतिहासिक सामग्रीहरु छन्। यसलाई छिटोभन्दा छिटो अघि बढाऔँ ।’

नेतृ कोइरालाले नेपाली कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताएकी छन्।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्