नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्छः प्रधानमन्त्री देउवा

फाइल फोटो।

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२ औँ प्राज्ञ–सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित हुनुका साथै पर्यटन प्रवर्द्धन हुने बताए। उनले नेपाल साँस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै सांस्कृतिक विविधता नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गरे।

उनले सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगिचंगी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकारको दृढ रहेको उल्लेख गरे।

उनले भने, ‘नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्रै होइन, सांस्कृतिक विविधताले पनि सम्पन्न समृद्ध मुलुकको रुपमा परिचित छ। सांस्कृतिक विविधता भनेका हाम्रा अमूल्य राष्ट्रिय सम्पदा हुन्। जसलाई संगीत नाट्यजस्ता प्रदर्शनका कुराले चलायमान, ऊर्जावान बनाइराखेका हुन्छन्। मुलुकका विभिन्न क्षेत्र तथा भेगमा छरिएर बसेका हाम्रा भौगोलिक जीवन, संस्कृति, सम्पदाको संरक्षण गर्दै विश्व बजारमा प्रचारप्रसार गर्न सके त्यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो विशिष्ट पहिचान स्थापित गर्नुका साथै पर्यटन प्रवर्द्धन गरी मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्न सक्थ्यो।’

उनले थपे, ‘नेपालको संविधानले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपी, संस्कृति र सांस्कृतिक सम्पदाको सम्वर्द्धन र संरक्षणको हकको कुरा सुनिश्चित छ। संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हक, अधिकारको पूर्ण कार्यान्वयन गर्दै मुलुकमा सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगीचंगी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ संकल्प छ।’

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र सम्वर्द्धनमा कलाकार र साहित्यकारहरुको अमूल्य योगदान रहेको बताए। उनले कलाकारहरुको प्रतिभालाई राष्ट्रिय हितमा परिचालन गर्नका लागि जोड दिनुपर्ने बताए। कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकारले आवश्यक सहयोग गर्ने उनले बताए।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले लोक संगीत, लोक नाट्य र लोक नृत्यहरु लोप हुँदै गइरहेको बताए। उनले यिनको संरक्षण र सम्वर्द्धन गर्नु राज्यको दायित्व भएको बताए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्