अग्रिम हाजिरी गरेर ड्यूटीमा जाँदैनन् भेरीका डा. नाग, कारबाहीको सिफारिस गर्दा मन्त्रालयबाट सुनुवाइ भएन

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले अग्रिम हाजिरी गर्ने गरेको खुलासा भएको छ।

डा. नाग असार २० गते अस्पतालमा आएका थिए। उनले असार २९ गतेसम्मको हाजिरी गरेर गएका छन्।

आफ्नै अस्पतालमा समय दिने डा. नागले भेरीमा राम्ररी ड्यूटी नगर्ने कुरा धेरै पहिलादेखि नै उठेको थियो। वरिष्ठ डाक्टरलाई भेरीमा हप्तामा दुई दिनमात्रै पालो पर्ने गर्छ। त्यही ड्यूटीमा पनि डा. नागले लापरबाही गर्ने गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

समितिले डा. नागलाई राम्ररी ड्युटी नगरेको भन्दै २०७८ साउन २२ गते कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा लेखिपठाएको थियो। त्यसको सुनुवाइ भएको छैन।

सोमबार (असार २० गते) अस्पताल पुगेर २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखिपठाएको छ। त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ।

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ। यहाँका सबैजसो वरिष्ठ डाक्टरको कि त अस्पताल छ, अस्पताल नभएकाहरु क्लिनिकमा ड्यूटी गर्ने गर्छन्। भेरी अस्पतालको ड्युटी समयमा पनि प्रायः बसेको पाइँदैन।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्