मोरङमा बेहुली लिन गएका जन्तीमाथि आक्रमण, मोटरसाइकलमा आगजनी

मोरङ – बेहुली लिन हिँडेका जन्तीमाथि मोरङको जहदा गाउँपालिकामा आक्रमण भएको छ।

सुनवर्षी नगरपालिका–९ डाइनियाँबाट बुधन मण्डलको घरमा बेहुली लिन हिँडेका बेहुला पक्षमाथि मंगलबार बिहान आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाइनियाँबाट बेहुला विक्की सिंह जन्तीसहित जहदा पुग्ने क्रममा बीच बाटो छेकेर आक्रमण हुँदा दुई युवक घाइते भएको र एउटा मोटरसाइकलमा आगजनी भएको छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले मंगलबार बिहान करिब १ बजे स्थानीय मझारे टोलमा ६/७ जना युवकले जन्तीको बाटो छेकेर आक्रमण गरेको जानकारी दिए। यसक्रममा जन्तीमा सरिक भएका मिथलेश झा र रोहित सिंह सामान्य घाइते भएका छन्।

यसक्रममा को १८ प ७५४१ नम्बरको मोटरसाइकलमा आगजनीसमेत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रवक्ता श्रेष्ठले घटनामा संलग्न भएको आशंकामा जहदा–२ का विकास मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए।

घटनापछि बेहुला पक्षले विवाह कार्य सम्पन्न गरी बेहुली लिएर घर फर्किसकेको उनले जानकारी दिए। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्