स्रोत नखुलेको ८३ लाख रुपैयाँसहित धनुषाबाट दुई जना पक्राउ

जनकपुरधाम – स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकमसहित धनुषाबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका–५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्रत्र प्रहरी बल नेपाल नं. ८ गणले जनाएको छ।

मंंगलबार दिउँसो करिब सावा १ बजे धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वा चेक प्वाइन्टको सीमा इलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो।

सशस्त्र प्रहरी प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा राखेर आइरहेकामा शंकाको आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो।

प्रहरीले १ हजारको ७ हजार थान नोट, ५ सयको २ हजार ६९९ थान नोट, १ सयको १ सय थान नोट, ५० को १ सय थान नोट नियन्त्रणमा लिएको छ।

आवश्यक अनुसन्धान तथा कारबाहीको लागि व्यक्ति¸नगद र मोटरसाइकल जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएके छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्