राष्ट्र बैंकलाई बैंकर्सहरुको सुझावः उत्पादनशिल क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने गरी मौद्रिक नीति ल्याउनु पर्छ

अनिल उपाध्याय।

काठमाडौँ – आगामी मौद्रिक नीतिमा उत्पादनशिल क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका छन्।

सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई बैंकर्सहरुले यस्तो सुझाव दिएका हुन्। बैंकर्सहरु सबैले मौद्रिक नीतिको सुझावमा उत्पादन क्षेत्रमा कर्जा प्रभावलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रमा बोल्दै नेपाल बैकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपध्यायले उत्पादनशिल क्षेत्रमा लगानी बढाउने किसिमको मौद्रिक नीति आउनुपर्ने सुझाव दिए। उनले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सकेमात्रै अर्थतन्त्रमा सुधार आउने बताए।

उपाध्ययले नेपालमा आउने रेमिट्यान्स बैंकिङ प्रणालीभन्दा टाढा रहेकाले बैंकिङ प्रणालीमा ल्याउनुपर्ने बताए। अध्यक्ष उपध्यायले उत्पादनमूलक र अनुत्पादनमूलक क्षेत्र छुट्याएर जोखिम भारलाई कम गरेमा भने बैंकहरुलाई प्रोत्साहन हुने बताए।

उत्पादन क्षेत्रमा जोखिम भार फरक गरिनुपर्ने उनको भनाइ छ। उनले बैंकहरुमा लागू भएको बेस रेट व्यवहारिक नभएको न्दै मौद्रिक नीतिमार्फत सुधार गर्न सुझाव दिए।

त्यस्तै, विकास बैंकर्स एशोसिएशनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले उत्पादनमूखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिने कर्जाको जोखिम भार मौद्रिक नीतिमार्फत घटाउनुपर्ने बताए।

उनले त्यस्तो कर्जामा जोखिम भार घटाउँदा सजिलै उद्योगले कर्जा पाएर आन्तरिक उत्पादन बढ्ने बताए। अध्यक्ष पोखरेलले अहिले बैंकहरुबाट उत्पादन क्षेत्रमा निर्देशित मात्रै कर्जा लगानी भएको भन्दै राष्ट्र बैंकले तोकिएको प्रतिशतभन्दा बढी उत्पादन क्षेत्रमा लगानी गर्ने बैंकलाई प्रोत्साहन गर्नुपर्ने बताए।

उनले मौद्रिक नीतिमार्फत विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्न सुझाव दिए। अध्यक्ष पोखरेलले विकास बैंकलाई पनि सरकारी कारोबार गर्न दिए बैकिङ क्षेत्रको स्थिरतालाई सहयोग गर्ने बताए।

त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरुको कर्जा लगानी उत्पादन क्षेत्रमा बढी गर्नुपर्छ भन्ने राष्ट्र बैंकको नीतिमा उल्लेख हुनुपर्ने बताए। उनले पछिल्लो समय बैंकहरुले उत्पादन क्षेत्रभन्दा बाहिर बढी लगानी गर्दा समस्या आएको बताए।

त्यस्तै अध्यक्ष गोल्यानले विदेशबाट आउने रेमिट्यान्समा मौद्रिक नीतिमार्फत थप दुई प्रतिशत ब्याजको व्यवस्था गर्नुपर्ने बताए। उनले नेपालमा विदेशी लगानी ल्याउनको लागि मौद्रिक नीतिमार्फत सहज बनाउनुपर्ने बताए।

अध्यक्ष गोल्यानले बैंकहरुमा १० लाखभन्दा बढी जम्मा गर्न नपाउने भएको भन्दै मौद्रिक नीतिमार्फत २५ लाखसम्म बैंकको मुद्धती खातामा पैसा राख्न पाउने व्यवस्था गर्न माग गरे।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्