जनकपुरधामबाट अपहरणमा परेका बालकको १५ दिनपछि सकुशल उद्धार

जनकपुरधाम – जनकपुरधामबाट अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चौकमा डेरा लिएर बस्दै आएका भारतको सितामढी बर्गनिया प्रखण्डका हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीलाई प्रहरीले महोत्तरीबाट उद्धार गरेको हो।

मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गर्दै बालकलाई अपहरण गर्ने महिलालाई सार्वजनिक गरेको छ।

खेल्नका लागि कोठाभन्दा बाहिर निस्केका बालकलाई असार ६ गते बिहान अपहरण गर्ने महोत्तरीको पिपरा गाउँपालिका–४ की ५५ वर्षीय मैथुन खातुनलाई प्रहरीले सार्वजनिक गरेको छ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले सिसीटीभी फुटेजको आधार, महिलाले लगाएको कपडा तथा अन्य हुलियाको आधारमा प्रहरी परिचालन गरेर व्यापक खोजेपछि बालक भेटेको बताए।

महिलाका छोरी मात्र रहेको र छोराको लोभमा बालकको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रजौरेले बताए।

प्रहरीले मंगलबार पिपरा–४ स्थित महिलाकै घरबाट बालकको उद्धार गरेको हो। पक्राउ परेकी महिलामाथि अपहरण तथा शरीर बन्धकमा मुद्दा दायर गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्