केन्द्रको हस्तक्षेपपछि बागमतीमा सरकार परिवर्तनको च्याप्टर क्लोज

मुख्यमन्त्री राजेन्द्र पाण्डे

काठमाडौँ – अरु प्रदेशमा समेत सत्ता परिवर्तनको झमेला सुरु हुने भएपछि बागमती प्रदेश सरकार परिवर्तनको च्याप्टर क्लोज भएको छ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई हटाउन सहयात्री दलहरु कांग्रेस र माओवादी केन्द्रले सांसदहरुको हस्ताक्षर नै संकलन गरे पनि तत्कालका लागि त्यो काम नलाग्ने भएको छ।

प्रदेशमा मुख्यमन्त्री छाड्न दबाब दिएपछि काठमाडौँ आएका पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपाल तथा पाँच दलीय गठबन्धनका अरु नेतासँग छलफल गरेपछि बागमती प्रदेशमा सरकार परिवर्तन नहुने भएको हो।

कांग्रेस र माओवादीका प्रदेश तहका नेताहरुलाई शीर्ष नेताले सरकार परिवर्तन नगर्न निर्देशन दिएका छन्। गठबन्धनका एक नेताका अनुसार अहिले बागमतीमा सरकार फेर्दा अरु प्रदेशमा समेत फेर्नुपर्ने अवस्था आउने भएकाले तत्कालका लागि कतै पनि नफेर्ने सहमति जुटेको छ।

गत कात्तिकमा पाण्डे मुख्यमन्त्री हुँदा ६ महिना कार्यकाल पुरा गरेपछि कांग्रेसका इन्द्र बानियाँलाई हस्तान्तरण गर्ने लिखित सहमति भएको थियो। उक्त सहमति सम्झाउँदै कांग्रेस-माओवादीले पाण्डेलाई पद छाड्न दबाब दिएका थिए। मुख्यमन्त्री पाण्डेले भने गठबन्धनले निर्णय गरे आफू तत्काल पद छाड्न तयार रहेको बताउँदै आएका थिए।

पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दुई/दुई वटा र जसपाले एउटा प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।

अब सरकार परिवर्तन भन्दा पनि आउँदा मंसिरमा हुने चुनावमा दलहरुले ध्यान केन्द्रित गर्ने समाजवादीबाट बागमती प्रदेशमा सिंचाई तथा खानेपानी मन्त्री रहेका वसन्त मानन्धरले बताए।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्