रोयललाई यु–२३ पुरुष बास्केटबलको उपाधि

काठमाडौँ – चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतीलाई पन्छ्याउँदै रोयलले यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ को स्कोरमा स्तब्ध बनाउँदै उपाधि जितेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रोयलले पहिलो क्वार्टरमा २३–१८ को स्कोरबाट अग्रता लिएको थियो। दोस्रो क्वार्टरमा पनि रोयले अग्रतालाई कायम राखेको थियो। दोस्रो क्वार्टरमा २२–१६ अग्रता लिएको रोयलले तेस्रो क्वार्टर भने ८–१० ले पछि परेको थियो। अन्तिम तथा निर्णायक क्वार्टरमा समान १३–१३ स्कोर गरे पनि रोयलले समग्रमा ६६–५७ को स्कोर निकाल्दै उपाधि जित्न सफल भएको हो। रोयलका निकेस मगरले सर्वाधिक २२ स्कोर गरे।

च्याम्पियन बनेको रोयले नगद १ लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता बनेको टायम्सले ५० हजार रुपैयाँमा चित्त बुझायो। मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगिता ७१ औं मदन जयन्तीका अवसरमा आयोजना भएको थियो।

प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए। आयोजकले सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाएको थियो। विजयी खेलाडीलाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले पुरस्कार वितरण गरे।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्