सरकारले संसद्‌मा भोलि अर्को नागरिकता विधेयक ल्याउने तयारी

काठमाडौँ– सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ।

मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको हो।

संशोधित विधेयक बुधबार नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए।

मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको थियो।

राज्य व्यवस्था तथा सुशासन समितिले तीन वर्षसम्म छलफल गरेर संसदमा प्रतिवेदन पुर्‍याएपछि सरकारले  बुधबार नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर अर्को संशोधित विधेयक लैजाने तयारी गरेको हो।

यसअघि नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अंगिकृत नागरिकता पाउने अवधिका बारे दलहरुबीच मत भिन्नता थियो।

समितिले विजय सुब्बाको संयोजकत्वमा बनाएको उपसमितिले वैवाहिक अंगिकृत नागकिरता सात वर्षपछि पाउने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा कांग्रेस र मधेस केन्द्रीत दलले असहमति राखेपछि तत्कालीन समिति सभापति शशी श्रेष्ठले बहुमतबाट पारित गर्न प्रस्ताव गरे पनि बैठक नै स्थगित गरेकी थिइन्।

पछिल्लो समय विधेयक पारित गर्ने कोसिस भए पनि सत्ता गठबन्धनभित्रै वैवाहिक अंगिकृत नागरिकता पाउने अवधिबारे मतभेद भएपछि सरकार विधेयक नै फिर्ता  लिने निर्णय गरेको थियो।

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्