हलेसी तुवाचुङमा तिलुङ भाषाको पठनपाठन सुरु

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ। कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो।

तिलुङ भाषाको पठनपाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्यालयलाई हस्तान्तरण गरिन्। तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो।

पहिलो चरणमा वडा नं ३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीबाट पठनपाठन सुरु गरिएको तिलुङ राई बुगाकिमले जनाएको छ। चालु शैक्षिक–सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि पठनपाठन सुरु गर्ने तयारी गरिएको जनाइएको छ।

पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ। लोपोन्मुख बनेको भाषाको संरक्षण र सम्वर्द्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्य रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको हो।

राईमध्ये कम जनसङ्ख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्य भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठनपाठन हुने नगरपालिकाले जनाएको छ। विसं २०७० जेठ १३ र १४ गतेको काठमाडौँमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको वर्ण निर्धारण तथा पहिचान गरेको थियो।

वर्ण निर्धारणका क्रममा तिलुङ भाषाका व्यञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण छवटा मात्र रहेको पत्ता लागेको थियो। कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण सङ्ख्या कम पाइएको हो।

तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, ऐ, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको बुगाकिमले जनाएको छ। प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने भाषाविद् बताउँछन्।

यस्तै आफ्नो भाषालाई पुस्तकमा दस्तावेजीकरणका लागि २०७१ वैशाख तेस्रो साता च्यास्मिटारका तिलुङभाषी बूढापाकालाई काठमाडौँमा लगेर तिलुङ भाषाको शब्द सङ्कलन गरिएको थियो। तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चाबहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो।

खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुङ्गाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौँलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ। खोटाङमा बूढापाकाको अन्त्यसँगै तिलुङ राई भाषाको अस्तित्व सङ्कटमा पर्दै गएको छ। रासस

असार २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्