‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ काे दाेस्राे संस्करण हुने

काठमाडाैँ- ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ। आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो।

प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा भएको थियो।

आयोजकका अनुसार प्रतियोगितामा १६ देखि २१ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन्। एसइई तथा प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरूको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापना सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएकाे छ।

प्रतियोगिताको शीर्ष विजेताले आगामी अक्टोबर १० मा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।

यसबाहेक विजेताले द ब्रिटिस कलेजमा २० लाख रुपैयाँसम्मको छात्रवृत्ति र आयोजकका तर्फबाट एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, फस्ट रनरअप तथा सेकेण्ड रनरअपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्।

प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बनिया, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत छन्। अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ।

फेलिज इन्टरनेसनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्री डाइरेक्टर साहिल खानले यो केवल प्रतियोगिता नभई एक अवसर रहेको बताए।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्