
काठमाडौँ- न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
अनका अनुसार नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ नगरपालिका-३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका-१ का नारायण बोगटीसहित ९ जनालाई ठगी सम्पर्कविहीन भएकी थिइन्।
न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौँ एसपी आचार्यले बताए।
रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन गरेको पत्राचारका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।