‘सरकारले भाषालाई सम्मान गर्न सकेको छैन’

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी।

‍काठमाडौँ – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चार माध्यम दोषी नरहेको बताएका छन्।

बुधबार आयोगले आयोजना गरेको सञ्चार माध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सञ्चार माध्यमहरुलाई आवश्यक मानक दिन नसक्दा कतिपय स्थानमा भने त्रुटी भइरहेको उल्लेख गरे। उनले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षकहरु अंग्रेजीमा राख्नुको औचित्य नरहेको पनि बताए।

अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यकभन्दा बढी स्थान दिइराखिएको उल्लेख गरे। उनले सरकारले भाषा र सञ्चारलाई सम्मान गर्न नसकेको आरोप पनि लगाए।

भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझै पनि राज्य बेखबर रहेको भन्दै राज्यको उदासिनताका कारण भाषामा विकृति आइरहेको उनको भनाइ छ।

अध्यक्ष अवस्थीले भने्, ‘हामी सञ्चार जगतले भाषा बिगारेको छ भन्छौँ, सञ्चारजगत भनको विद्यालय, विश्वविद्यालय, समाजको मानक हो, तर हामीले सञ्चारजगतको लागि चाहिने मानक दिन सकेका छैनौँ। अहिले भइरहेको प्रयासले पुगेको छैन। सञ्चारमाध्ययमा पनि यसको विचार हुन आवश्यक छ। भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझै पनि राज्य बेखबर छ। सरकारले भाषालाई सम्मान गर्न सकेको छैन।’

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले आगन्तुक शब्दका सन्दर्भमा कुनै पनि भ्रम पाल्न जरुरी नरहेको उल्लेख गरे।

उनले आजभन्दा ४० वर्षअघि नै संस्कृबाट आएका शब्द बाहेकका आगन्तुक शब्दलाई ह्रस्व लेख्ने सहमति भइसकेको बताए। सदस्य सचिव उपाध्यायले नेपालीमा ८० प्रतिशतभन्दा बढी शब्दहरु संस्कृत भाषाबाट आएकोले त्यसलाई तत्सम शब्दका रुपमा स्वीकार्नुको विकल्प नरहेको उल्लेख गरे।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्