छानविन समितिबारे दलहरू छलफलमा व्यस्त हुँदा संसद सुरु हुन सकेन

काठमाडौँ- अर्थमन्त्री जर्नादन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको भनिएको विषयमा संसदीय छानविन समितिबारे छलफल चल्दा प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन।

यही विषयमा विवाद हुँदा बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो २ बजेकाे लागि सारिएको थियो।

तर, दिउँसो २ बजेको लागि तय भएको बैठक अझै सुरु हुन सकेकाे छैन।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसदीय छानविन समितिबारे छलफल चलिरहेकोले संसद बैठक सुरु हुन सकेको छैन।
समितिमा को-को रहने, कुन आकारको समिति गठन गर्ने भन्नेबारे छलफल जारी छ।

संसद सचिवालय स्रोतले देशसञ्चारसँग भन्यो, ‘संसदमा सहभागी दलका प्रमुख सचेतकहरू संसदीय छानविन समिति गठनबारे विस्तृत छलफलमा हुनुहुन्छ। तसर्थ संसद बैठक सुरु हुन नसकेको हो।’

संसदीय छानविन समिति गठन गर्न सत्तारूढ दलहरू तयार हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने सर्त राखेको छ।

आजको संसद बैठकमा अर्थमन्त्रीले धारणा राख्ने तयारी गरिरहँदा एमालेले भने अर्थमन्त्रीलाई बहिस्कार गर्ने जनाएको छ।

बैठक दुई बजे बस्ने गरी संसद सचिवालयले कार्यसूची सार्वजनिक ग रेपनि तीन बज्दा पनि सुरु हुन सकेको छैन।

कार्यसूची निकालेको दुई घण्टासम्म पनि बैठक बस्न सकेन भने फेरि अर्को कार्यसूची निकाल्नुपर्ने संसद नियमावलीमा व्यवस्था छ।

 

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्