अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइनः योगेश भट्टराई

फाइल तस्बिर

काठमाडौँ – एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताएका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार सञ्चारकर्मी सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताए। उनले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए।

उनले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

उनले भने, ‘अर्थमन्त्रीको नियत खराब छ भन्ने कुरा प्रष्ट देखिन्छ। उनले यसमा अपराध गर्नुभएको छ भन्नेकुरा प्रष्ट देखिन्छ। त्यसकारणले उहाँमाथि नै छानबिन गर्नका लागि सर्वदलीय संसदीय छानबिन समिति हामीले भनेका छौँ नम्बर एक। नम्बर दुई हाम्रो बटमलाइन अब अर्थमन्त्री पदमा रहन मिल्दैन कि त राजीनामा गर्नुपर्छ। कि त प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ। नम्बर तीन, सिसिटिभि फुटेज मेटाउने, सूचनालाई बेपत्ता गर्ने जति पनि मानिस छन् तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। यो सार्वजनिक पदमा बसेको मानिसले गम्भीर अपराध गरिसकेपछि केही कानुन यसमा आकर्षित हुन्छन्। नेपालको मुलुकी अपराधसंहिता यसमा आकर्षित हुन्छ। साइबर कानुन यसमा आकर्षित हुन्छ। सिसिटिभि फुटेजको व्यवस्थापनसम्बन्धीका निर्देशिकाहरू यसमा आकर्षित हुन्छन्। त्यसैले सार्वजनिक पदमा बसेर जुन अपराध गरिएको छ। त्यस हिसावले हेर्दाखेरी यो गम्भिर भ्रष्टाचार पनि हो। पदीय दुरुपयोग पनि हो। त्यस हिसाबले अर्थमन्त्रीमाथि कारबाही चलाउनुपर्छ भन्ने हाम्रो भनाइ छ। अर्थमन्त्रीको राजीनामा बटमलाइन हो।’

सांसद भट्टराईले अर्थमन्त्री शर्माले राजीनामा नदिएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए।

 

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्