अर्थमन्त्रीमाथि लागेको आरोपबारे माओवादीले जवाफ दिनुपर्छः झलनाथ खनाल

फाइल तस्बिर

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ माओवादी केन्द्र र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरुको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैले दिनुपर्ने बताएका हुन्।

उनले अर्थमन्त्रीमाथि उठेको सवालहरुको हेलचेक्र्याँइ गर्नु नहुने बताए। उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरुलाई समावेश गराएको हो भने गम्भीर घटना भएको र त्यसको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताए। बाहिर आएका कुरा सत्य हो भने अर्थमन्त्रीको राजीनामा स्वभाविक भएको उनको भनाइ छ।

उनले भने, ‘अहिले जुन धरातलबाट यो प्रश्न उठेको छ, यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ। सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ। यस्ता सवालहरुमा हामीले हेलचेक्र्याँइ गर्नु हुँदैन। लिपपोत पनि गर्नु हुँदैन। मुलुकमा सबै कुरा पारदर्शी हुनुपर्छ भनेर हामी संविधान लेख्ने, अनि काममा त्यो नगर्ने खालको कुराहरु हुनु हुँदैन। सबैकुरा पारदर्शी हुनुपर्छ। र कहीँ गल्ती, कमजोरी भएको छ भने सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ।’

उनले अर्थमन्त्री शर्मामाथिको आरोपको विषय गठबन्धनमा छलफलयोग्य विषय भए पनि हालसम्म गठबन्धनमा छलफल नभएको बताए।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्