संसदमा अर्थमन्त्री शर्मालाई एमाले सांसदले गरे बहिस्कार

काठमाडौं– प्रतिनिधिसभा बैठकमा मंगलबार एमाले सांसदहरुले अर्थमन्त्रीको सम्बोधन बहिस्कार गरेका छन्।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा बोल्न सुरु गरेपछि एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन्।

सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई सम्बोधनका लागि बोलाएलगत्तै एमाले सांसदहरु बाहिरिएका हुन्।

एमाले सांसदहरुले अर्थमन्त्रीलाई बहिस्कार गर्ने बिहानैदेखि योजना बनाएका थिए।

बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री विवादमा परेपछि उनलाई एमालेले बहिस्कार गरेको हो।

सदनमा बोल्दै गर्दा अर्थमन्त्री शर्माले भने बजेट बनाउदा कुनै गल्ती नगरको दाबी गरेका छन्।

यद्यपि शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाइएको छ।

शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति बनाउन दलहरुबीच सहमति भएपछि बैठक सुरु भएको हो।

समिति निर्माणमा दलहरु व्यस्त भएकाले दिउँसो २ बजे बस्ने तय भएको बैठक चार बज्नै लाग्दा सुरु भएको हो।

यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अर्थमन्त्रीको बिषयमा विवाद हुँदा दुई बजेसम्मको लागि स्थगित गरिएको थियो।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको लागि बजेट निर्माण गर्दा असम्बन्धित व्यक्ति संलग्न गरेको भन्दै छानविन गर्न समिति बनाइएको हो।
समिति निर्माण गरेकोबारे संसद सुरु हुनेवित्तिकै सदनबाट पनि सहमति जनाइएको थियो।

दलहरुको सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

 

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्