अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन

फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधि सभाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरी करका दर हेरफेर गरेको विषयलाई लिएर ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरेको बताए।

छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला वि.क., लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन्।

समिति आफैले सभापतिको चयन एवं आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्ने व्यवस्था रहेको सभामुख सापकोटाले बताए। समितिको कार्यावधि, कार्य प्रारम्भ गरेको मितिले १० दिनसम्मको लागि हुने पनि सभामुख सापकोटाले बताए।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्