थप दुई जनामा हैजा

काठमाडौँ – थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।

नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले जानकारी दिए। अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेको बताए। उनका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ। उनले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिए। रासस

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्