एनसेलको सामाजिक पहलः रिङरोड ग्रिनबेल्ट उद्घाटन

काठमाडौँ –एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रिनबेल्टको मंगलबार उद्घाटन गरिएको छ।

एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडकखण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रूपमा एक कार्यक्रममाझ मंगलबार उक्त ग्रिनबेल्ट उद्घाटन गरेका छन्। एनसेलले यस सामाजिक पहलअन्तर्गत कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गरिरहेको छ।

यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको छ र यसले रिङरोड सडकखण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको छ।

यस कार्यक्रमअन्तर्गत रही एनसेलले ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणबाहेक कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षरोपणमा पनि योगदान पु¥याएको छ। यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने भएकाले एनसेलले सन् २०२४सम्म यस ग्रिनबेल्टको संरक्षण गर्नेछ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डीचोङ्ले भने, ‘दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र हाम्रोआजियाटा समूहको नेटजिरोकार्बनको आकांक्षाअनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौँ। हामी वन तथा भू–संरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौँ महानगरपालिका, सम्बन्धित वडा र अन्य सरोकारवालाप्रति आभारी छौं। यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजना सामूहिक रूपमा साकार पार्न सक्छौं भनी प्रस्ट्याएको छ।’

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा राजेन्द्र केसीले भने, ‘यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता थियो। केही प्रतिस्थापन गरेर शतप्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि हो। रिङरोडको ग्रिनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा हामी एनसेललाई धन्यवाद दिन चाहन्छौँ।’

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्