गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित

काठमाडौँ – गणपुरक संख्या नपुग्दा संसद बैठक प्रभावित भएको छ। औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् प्रस्ताव निर्णायर्थ पेश गर्दा कोरम नपुगेको हो।

सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेक्रममा नेमकिपाकास सांसद प्रेम सुवालले नियम आपत्ति गर्दै गणपुरक संख्या (कोरम) गणना गर्न माग गरेका थिए।

उनको मागपछि ३ मिनेट घण्टी बजाएर गणना गर्दा ६५ जना सांसद मात्रै उपस्थित भएको पाइएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पेश गरेको औषधि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि हुँदा संसदका कुर्सी रित्तो देखिएका थिए।

संविधानको धारा ९४ मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक तिहाईको सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। जसअनुसार निणायर्थ पेश गर्दा ६९ सांसद हुनुपर्ने भए पनि जम्मा ६५ भएका हुन्।

बुधबारको बैठक सांसदहरुको उपस्थिति उल्लेख्य भए पनि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि धेरै सांसद हाजिर गरेर बाहिरिएका थिए।

सत्ता पक्षले गणपुरक सांसदको जोहो गरेपछि दोस्रो बैठक चलिरहेको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्