अनिता विन्दुले गरिन् प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ। आगामी साउन ६ र ७ गते हेटौंडामा हुने महाधिवेशनको लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्।

यसैबीच पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रेस युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्षसमेत रहेकी विन्दुले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताको लागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन्।

उम्मेदवारी घोषणा गर्दै विन्दुले भनिन्,‘लोकतन्त्रको मूल्य मान्यताबाट विचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्‍याउन खबरदारी गर्न सक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ।’

उनले थपिन्,‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ। अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पनि सहभागी थिए।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्