कालिकामाई गाउँपालिकाको बजेटमा विवाद, अध्यक्षको मनोमानीविरुद्ध उपाध्यक्ष र वडाध्यक्षले बजेट पेस हुन नदिने

वीरगञ्ज – पर्साको कालिकामाई गाउँपालिकाले अझै ल्याउन नसकेको बजेट आगामी शुक्रबार ल्याउन लागेपछि त्यसको विरोध भएको छ।

गाउँपालिकाले ल्याउन लागेको बजेट विकासविरोधी भएकाले पालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतले विरोध गर्दै बजेट ल्याउन नदिने बताएका छन्।

वीरगञ्जमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी गाउँपालिकाकी उपाध्यक्ष राजमती बरैनी, वडा नम्बर २ र ४ का वडाध्यक्ष कार्यपालिका सदस्यलगायतले बजेटको विरोधमा उत्रिने जानकारी गराएका छन्।

निर्वाचित भएदेखि नै कार्यालयमा सँगै हुँदा पनि गाउँपालिका अध्यक्ष वशिष्ट कुमारले बजेटबारे आफूसित कुनै सल्लाह नगरेको उपाध्यक्ष बरैनीले बताइन्। अध्यक्षले मनोमानी तरिका एकलौटी रूपमा बजेट निर्माण गरेर वडामा समेत बजेट बनाउन पठाएकाले आफूहरू त्यस्तो बजेटबाट असन्तुष्ट रहेको उनको भनाइ थियो।

गाउँपालिकाको उपाध्यक्ष भएको नाताले बजेट निर्माण गर्दा अध्यक्षले सल्लाह गरी जनताको हितमा बजेट निर्माण गर्नुपर्नेमा त्यस्तो नगरेकाले बजेटको विरोधमा उत्रिएको बरैनीको भनाइ थियो।

वडालाई जम्मा ३० लाख मात्रै बजेट दिइएको तथा अध्यक्षले करोडाँै बजेट आफैँसित राखेकाले वडामा थप बजेटको सिलिङ गर्नुपर्ने पत्रकार सम्मेलनमा वडा नम्बर २ का वडाध्यक्ष सोनालाल चौरसियाले माग गरे। गाउँपालिकाको शिक्षा स्वास्थ्य तथा भौतिक विकासको शीर्षकमा बजेट नराखेर अध्यक्षले सिसिटिभी जडानमा एक करोड, जेसिबी, रोड रोलर, ट्र्याक्टर खरिद गर्ने शीर्षकमा एक करोड १० लाख रकम बिनियोजन गर्नु जायज नभएकाले आफूहरू गाउँपालिकाले ल्याउन लागेको बजेटको विरोधमा रहेको चौरसियाले बताए।

बजेटको विरोधमा आफूहरू बिहीबार नै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गइरहेको जानकारी उनले पत्रकार सम्मेलनमा गराए।

‘गाउँपालिकाको शिक्षाको अवस्था एकदमै खराब छ विद्यालयमा शिक्षक नभएर विद्यार्थीको पढाइ भइरहेको छैन त्यहाँ बजेट हालिएको छैन,’ उनले भने, ‘तर सिसिटिभी जडान, जेसिबी रोलर ट्र्याक्टर खरिदमा भने करोडाँै रकम छुट्ट्याइएको छ यो राम्रो भएन।’

अहिलेका गाउँपालिका अध्यक्ष विकासप्रति जागरुक नभएकाले पालिकाको स्रोतबारे अध्ययन नै नगरी वडामा ३० लाखको बजेट बनाउन चिठी पठाइदिएको पत्रकार सम्मेलनमा वडा नम्बर ४ का अध्यक्ष सञ्जय साहले बताए।

आफ्नो वडामा बाटोघाटो, नालालगायतको विकास अझै हुन बाँकी रहेको तथा ३० लाखले त्यसको विकास गर्न सम्भव नभएकाले आफू पालिकाले ल्याउन लागेको बजेटको विरोधमा रहेको उनले बताए।

‘रोड नाला विद्यालयमा शिक्षकलगायतमा बजेट राख्न जरुरी विगतका अध्यक्षले जुन सिस्टमबाट गाउँपालिका चलाए अहिले त्यस्तो भइरहेको छैन।’

अगामी शुक्रबार आउन लागेको बजेटको पालिकामा रहेको कांग्रेस र एमालेले मिलेर विरोध गर्ने पत्रकार सम्मेलनमा कांग्रेस नेता अजय पटेलले जानकारी दिए।

यस्तै, एमाले नेता पवन तिवारीले पनि पालिकाले ल्याउने बजेट नसच्याए एमाले कांग्रेसका जनप्रतिनिधि एक भएर बजेटको विरोध जनाउने दाबी गरे।

कालिकामाई गाउँपालिकाका अध्यक्षमा जनता समाजवादी पार्टीबाट २२ वर्षीय वशिष्टकुमार निर्वाचित भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी राजमती बरैनी निर्वाचित भएकी हुन्।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्