तुइन चुँडिएर महाकालीमा बेपत्ता भएका बुढाथोकीको खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

फाइल तस्विर

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय सचिन बुढाथोकीको खोजी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीक्षो खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन्।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी कार्य तीव्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए। बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उनले बताए।

बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौँ भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुँडिएर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्