संसद चलाउन सत्ता पक्षको बेवास्ता, दुई जना सांसद अनुपस्थित हुँदा विधेयक पारित भएन

काठमाडौँ – संसदमा कानुन पारित गर्ने सवालमा सत्ता पक्ष गैरजिम्मेवार बनेको छ। संसदमा आफूले लगेका कुनै पनि प्रस्ताव पारित गराउन आवश्यक पर्ने गणपुरक (न्युनतम सांसद संख्या) जोहो गर्ने दायित्व सत्ता पक्षको भए पनि महत्वपूर्ण विधेयक पारित गर्न नै हेलचेत्र्याइ गरेको छ। बुधबार संसदमा दुईपटक कोरम नपुग्दा विधेयक पारित हुनबाट रोकिएको छ।

विपक्षी दलका सांसदहरुले तीनपटक गणपुरक संख्या एकीन गर्न माग गरेकोमा दुईपटक नपुगेको हो। पहिलोपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ पेश गरेको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्र्रस्ताव निर्णायर्थ पेश गर्दा कोरम नपुगेन।

नेमकिपाका सांसद प्रेम सुवालले नियम आपत्ति गर्दै गणपुरक संख्या (कोरम) गणना गर्न माग गरेपछि ३ मिनेट घण्टी बजाएर गणना गर्दा ६५ जना सांसद मात्रै उपस्थित भएको पाइएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

१५ मिनेटपछि सुरु भएको दोस्रो बैठकमा पुन त्यहीँ प्रस्ताव पारित गर्न खोज्दा सांसद सिलवालले फेरि गणपुरकको प्रश्न उठाए। दोस्रोपटक गणना गर्दा बालबाल ७६ जना सांसद उपस्थित रहेको पाइएपछि मन्त्री खापुङको प्रस्तावमा औषधि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भयो।

संविधानको धारा ९४ मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सांसदको उपस्थित हुनुपर्ने व्यवस्था छ। जसअनुसार निणायर्थ पेश गर्दा ६९ सांसद अनिवार्य उपस्थित हुनै पर्छ।

फाइल तस्बिर

बुधबार प्रधानमन्त्री पछि दोस्रो वरियताका गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेको विधेयकसमेत गणपुरक संख्याकै कारण पारित हुन सकेन।

छलफलपछि ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव खाँडले राखे पनि दुईजना सांसद अनुपस्थित हुँदा विधेयक नै रोकिएको छ।

एमाले सांसद झपट रावलले गणपुरक संख्या एकीन गर्न माग गरेपछि भएको गणनामा जम्मा ६७ जना मात्रै सांसद उपस्थित रहेको पाइएको थियो। ६९ जना सांसद उपस्थित हुनुपर्नेमा दुई जना नपुग्दा सामाजिक सुरक्षा विधेयक पारित गर्ने कार्यसूची बिहीबारका लागि सरेको छ।

संसद सचिवालयका अनुसार बुधबार २१८ जना सांसदले हाजिरी गरेका छन्। विधेयक पारित गर्ने बेलामा बैठकमा नबसे पनि ती २१८ जना सांसदले बैठक भक्ता र गाडी भाडा पक्का गरेका छन्।

एमाले सांसद झपट रावल आफ्नो प्रस्ताव पारित गर्ने बेलामा सत्ता पक्षले बहुमत सांसद पनि उपस्थित गराउन नसक्नु लाजमर्दो भएको टिप्पणी गरे। उनले भने, ‘सरकारले आफैँले ल्याएको विधेयक पारित गर्न नसक्नु लज्जास्पद कुरा हो। सरकारमा मन्त्री मात्रै २३ जना हुनुहुन्छ, यता संसदमा दुई जना सांसद नपुगेर कानुन पारित हुन्न। दिउसभर उहाँहरुको मन्त्रालय वा अन्यत्र काम भए पनि बेलुका कहाँ जानुहुन्छ?’बुधबार बेलुकासम्म सम्सद चलेको थियो।

यसअघि असार १२ गते पनि गणपुरक संख्या नपुग्दा विधेयक पारित हुनबाट रोकिएको थियो। त्यस दिन पनि सांसद रावलले नै गणपुरक संख्या गणना गर्न माग गरेका थिए। ६३ जना मात्रै सांसद उपस्थित रहेको पाइएपछि बैठक स्थगित गरेर दोस्रो बैठकबाट विधेयक पारित गरिएको थियो।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्