फर्जी मत खसाउन खाेज्दा बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

सांकेतिक तस्बिर

काठमाडाैँ- बाजुराकाे बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ।

मतदानका क्रममा वडा नम्बर ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ।

झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन्। गठबन्धनका तर्फवाट उम्मेदवार बनेका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते भएका छन्।

मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

‘केहीबेर विवाद भयो, त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो’, उनले भने, ‘करिब १५ मिनेट मतदान स्थगित भयो। अब पुनः मतदान सुरु भएको छ।’

गत ३० वैशाखमा स्थगित मतदान आज बिहान ७ बजेदेखि पुनः प्रारम्भ गरिएको हो। त्यहाँ नगरप्रमुखको पदमा नेपाली कांग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बाँनिया उम्मेदवार छन्।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

यसअघिको मतदानका क्रममा दशमध्ये छवटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो। निर्धारित समयमा मतदान हुन नसक्दा उक्त नगरपालिका जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ।

असार २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्