म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ

काठमाडाैँ- म्याग्दीको मालिका गाउँपालिका-६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ।

भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो।

मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बिहीबार एकैदिन सञ्चालन भएका दुईटै एकाइमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिए।

‘स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा एकाइबाट उपलब्ध हुन्छ’, उनले भने, ‘एकाइ सञ्चालन भएपछि सामान्य बिरामी हुँदासमेत दुईदेखि तीन घण्टा पैदल हिँडेर दरवाङ पुग्नुपर्ने समस्या हटेको छ।’

खोपसम्बन्धी सेवा पनि एकाइबाटै उपलब्ध हुनेछ। दिच्याममा १३७ र दुखुमा १०२ परिवारको बसोबास छ। गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन्। सामुदायिक भवनको कोठामा एकाइ सञ्चालन गरिएको छ।

यसअघि दुखु र दिच्यामका बासिन्दा सामान्य बिरामी पर्दा पनि सिटामोलका लागि दरवाङ पुग्ने गरेका थिए। मालिका गाउँपालिकाको वडा नम्बर ३ डाडागाउँ र पात्लेमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ।

असार २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्