नागरिकता विधेयक संसदबाट फिर्ता

काठमाडौँ – संसदमा विचारधीन नागरिकता विधेयक फिर्ता भएको छ। सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले नागरिकता विधेयक फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष छलफल गरेर प्रतिवेदन संसदमा पेश गरे पनि सरकारले त्यसलाई पारित गर्नुको साटो फिर्ता लिएको हो।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अंगिकृत नागरिकता पाउने अवधिकाका विषयमा मतभेद थियो।

त्यसलाई सल्टाउनुको साटो सरकारले असार २१ गते विधेयक नै फिर्ता लिने निर्णय गरेको थियो।

तत्कालीन सरकारले संविधानमा भएको व्यवस्थाको कार्यान्वन र संशोधनका लागि २०७५ साउनमा विधेयक दर्ता गरेको थियो।

सरकारले पुरानो विधेयक फिर्ता लिए पनि लगत्तै नयाँ विधेयक दर्ता गर्ने तयारी अघि बढाएको छ। सहमति भएका र विवाद रहित विषयलाई मात्रै सम्बोधन गर्ने गरी नयाँ विधेयक फास्टट्राकबाट पारित गराउने तयारी सरकारको छ।

विधेयक फिर्ता लिने कार्यको विपक्षी दलका सांसदहरुले विरोध जनाएका छन्। नागरिकको नागरिकता पाउने अधिकारलाई कुण्ठित गर्न सरकारले विधेयक फिर्ता निर्णय गरेको एमालेका सांसदहरुको आरोप छ।

सांसद शेरबहादुर तामाङले भ्रण हत्यासँग तुलना गरे। उनले भने, ‘ उनले भने, ‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो। मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रुण हत्या भयो। नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर। त्यो नगरियोस्, जन्मिन दिऊ।’

असार २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्