चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

काठमाडाैँ- आफ्नै बा-आमाको नाममा खोलिएको ट्रस्टमा कराेडौँ पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरूले धेरै व्यक्तिका स्मृतिमा ट्रस्ट,  प्रतिष्ठानलगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए।

धेरै विरोधपछि सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफूले नलिने घोषणा गरेका छन्। उनको बाबु स्व. पुननारायण श्रेष्ठ र आमा स्व.धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रस्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो। ५० लाख भवन निर्माण र ५० लाख ट्रस्ट संचालनका लागि विनियोजन भएपछि समाचार आयो।

उक्त समाचार पढेर नागरिक समाज र राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले विरोध र आलोचना गरे। मन्त्री श्रेष्ठले आइतबार बिहानै फेसबुकमा स्टाटस लेख्दै उक्त बजेट नलिने घोषणा गरेका छन्।

‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि मेरो कर्म समाज विकासको लागि हो। गल्ती भए माफ गर्नुहोला’, उनले लेखेका छन्, ‘गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रस्टको बजेटसँग जोडिएर टिप्पणी आएको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।’

उनले ट्रस्ट सामाजिक कामकै लागि विधिवत रूपमा दर्ता भएको संस्था भएकोले समाजकै काममा ट्रस्टले भूमिका निर्वाह गर्ने बताए।

‘उक्त ट्रस्ट जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो। जेष्ठ नागरिक सम्मान र महिला सशक्तीकरण गर्दै असहायहरूको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असहाय र गरिब तथा रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो’, उनी भन्छन्, ‘यो संस्था विगत १२ वर्षदेखि सन्चालनमा छ। म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृहजिल्लामा यो ट्रस्टलाई समाजमा रहेका त्यस्ता वर्गहरूको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ। तर यो टिप्पणीले मलाई गम्भीर बनाएको छ।’

मन्त्री श्रेष्ठले उक्त शीर्षकको बजेट हटाइदिन अर्थमन्त्रीलाई आग्रह पनि गरेका छन्।

‘आगामी वर्षको बजेटवाट उक्त शीर्षक हटाई स्रोत नराखिदिन म अर्थमन्त्रीज्यूलाई अनुरोध गर्दछु। म सधैँ जनताको पक्षमा काम गर्ने नेपाली कांग्रेसको इमान्दार सिपाही हो’, उनले अघि लेखेका छन्, ‘मेरो बुवाआमाको नाममा रहेको ट्रस्टकाे उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु। मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु।’

फिर्ता भएको बजेट असहाय ज्येष्ठ नागरिक र महिलाहरूको हकहितमा पनि सदुपयोग गरिदिन आग्रह गरेका छन्।

यसअघि कांग्रेस नेता अर्जुन जोशीले पनि आफ्नो बाबूको नामबाट निर्माण हुन लागेको पार्कमा छुट्याएको २० लाख रुपैयाँ नलिने घोषणा गरेका थिए।

असार २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्