लागूऔषधसहित सर्लाहीबाट दुईजना पक्राउ

जनकपुरधाम – सर्लाहीबाट प्रतिबन्धीत लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका २ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकललाई बिशेष सूचनाको आधारमा चेक जाँच गर्दा झोलामा गम्छाले बेरी मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको अबस्थामा नाइट्राभेट ट्याब्लेट १५ सय चक्कीसहित यादवलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका यादवलाई कार्यालयमा लगेर सोधपुछ गर्दा यस कार्यमा घिमिरे समेत संलग्न रहेको र उनको घरमा लागूऔषध राखेको भनेपछि घिमिरेको घरमा गई खानतलासी गर्दा डाइलेक्स डिईको ९० बोतल बरामद भएको उनले बताए।

दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

असार २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्