विज्ञानको लगानीको मोडलबारे सोच्न आवश्यक छः नेता शाह

फाइल तस्बिर।

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता गणेश शाह तीन वटै तहको सरकारले विज्ञानको लगानीको मोडलबारे सोच्न आवश्यक रहेको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विज्ञानलाई जनविज्ञान नबनाएसम्म प्रविधि र विकास विज्ञानको औचित्य नरहेको उल्लेख गरे।

नेता शाहले नेपालमा ‘नलेज बेस’ वैज्ञानिक समाजको विकास हुन आवश्यक रहेको बताए। उनले चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चिओले पार्टी अध्यक्षलाई भेट्दा विज्ञान विभाग प्रमुखको रुपमा आफूलाई समावेश नगर्दा दुःख लागेको बताएका हुन्।

उनले विज्ञान बिना अहिलेको समाजमा कुनै कुटनीति सम्भव नरहेको उल्लेख गरेका थिए। उनले भने,‘विज्ञानलाई जनविज्ञान बनाऔँ। नलेज बेस इण्डस्ट्रीको विकास हुन जरुरी छ। चिनियाँ विदेश विभाग प्रमुख आउनुभयो। तर भेटघाटमा विज्ञान विभागको प्रमुख राख्नुभएन। कुटनीति अहिले विज्ञान बिना सम्भव छैन। त्यसैले आगामी दिनमा विज्ञान विभागका सदस्यहरुलाई नछोडौँ। हाम्रो विज्ञानप्रतिको राजनीतिक दृष्टिकोण के हो? तीनै तहको सरकारले विज्ञानको लगानीको मोडलबारे सोच्नुपर्छ।’

यसका साथै नेता शाहले विज्ञानप्रतिको राजनीतिक दृष्टिकोणका बारेमा सरकार स्पष्ट हुन आवश्यक रहेको पनि बताएका छन्।

असार ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्